नियम १२
बस्तु वा सेवाको मूल्यको मापदण्ड निर्धारण
: (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वस्तु वा सेवाको मूल्य निर्धारण सम्बन्धी मापदण्ड तयार गर्ने निकाय तोक्न सक्नेछ .। यसरी मूल्य निर्धारण सम्बन्धी मापदण्ड तयार गर्ने निकाय तोक्दा त्यस्तो निकायले कुन कुन वस्तु वा सेवाको मूल्यको मापदण्ड निर्धारण गर्ने हो सो समेत उल्लेख गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम तोकेको निकायले वस्तु वा सेवाको मूल्य निर्धारण सम्बन्धी मापदण्ड तयार गर्दा ऐनको दफा २१ मा उल्लिखित आधारका अतिरिक्त देहायको आधारमा त्यस्तो वस्तु वा सेवाको मूल्यको मापदण्ड तयार गार्नु पर्नेछ:- (क) वस्तु वा सेवाको मूल्य निर्धारण सम्बन्धी अन्तर्राष्ट्रिय असल अभ्यास (इन्टरनेशनल बेष्ट प्राक्टिस),

(ख) वस्तु वा सेवाको बजारको तह, र

(ग) उपनियम (१) बमोजिमको मूल्य निर्धारण सम्बन्धी मापदण्ड “तयार गर्ने, निकायले तोके बमोजिम वस्तु वा सेवाको प्रकृति अनुसार लिन पाउने मुनाफा ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै वस्तु वा सेवाको मूल्य निर्धारण सम्बन्धी मापदण्ड तयार गर्दा त्यस्तो वस्तु वा सेवाको वास्तविक लागतमा अवसर लागत, चन्दा, उपहार, व्यवसायीको आफ्नै कारणले तिर्नु परेको वा तिर्नुपर्ने दण्ड, जरिबाना, हर्जाना तथा सम्बन्धित वस्तुको उत्पादनसँग असम्बन्धित अन्य वस्तुको लागत, मूल्य निर्धारणको मापदण्डमा तोकिएको शीर्षक वा रकम भन्दा फरक हुने गरी मूल्यमा समावेश गरी मूल्य निर्धारण गर्न वा गराउन हुँदैन।

(४) उपनियम (२) बमोजिम कुनै वस्तु वा सेवाको मूल्यको मापदण्ड निर्धारण नभएको अवस्थामा मन्त्रालयले सम्बन्धित विषयगत मन्त्रालयसँग परामर्श गरी त्यस्तो वस्तु वा सेवाको मूल्य निर्धारण सम्बन्धी मापदण्ड तयार गर्न सक्नेछ।

(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम सम्बन्धित सरकारी निकाय वा सार्वजनिक संस्थानबाट हुने गरेको वस्तु वा सेवाको मूल्य निर्धारण सम्बन्धी मापदण्डको हकमा सोही बमोजिम हुनेछ।